एजेन्सी । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । मंगलबार अबेर राष्ट्रपति भवनमा विद्यार्थी नेता र सेनाका प्रमुखहरुको सहभागीतामा भएको बैठकले युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय गरेको हो।
आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यसअघि। मंगलबार नै राष्ट्रपतिले संसद विघटन गरेका थिए।
बंगलादेशमा लघुवित्तको अवधारणा सुरूवात गरेका युनुसले सन् २००६ को नोबेल पुरस्कार पाएका थिए। उनी शेख हसिनाका कट्टर विरोधी मानिन्छन्।
हसिनाको पलायनपछि सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। तर, विद्यार्थीहरुले सेनाले सरकार बनाए मान्य नहुने अडान लिएपछि सर्वसहमतिमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।