|प्रदर्शनका क्रममा भएको आगजनी
एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले संसद् विघटन गरेका छन् । विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै राष्ट्रपतिले मंगलबार संसद् विघटन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सरकारी सेवामा रहेको कोटा प्रणालीलाई लिएर सुरु भएको सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भारत पुगेकी छिन्। गत जनावरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना पुनः प्रधानमन्त्री बनेकी थिइन्।
हसिनाको पलायनपछि सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। तर, विद्यार्थीहरुले भने सेनाले सरकार बनाए मान्य नहुने बताउँदै आएका छन्।
विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्। विद्यार्थीहरुको मागमा युनुसले सकारात्मक प्रतिक्रिया दिएका छन्।