किन भड्कियो बंगलादेशमा हिंसा ? यस्तो छ हसिनाको विगत

  • ई-सरोकार
  • २०८१ श्रावण २२, मंगलबार
  • ७५ पटक पढिएको

किन भड्कियो बंगलादेशमा हिंसा ? यस्तो छ हसिनाको विगत

एजेन्सी । बंगलादेशमा एक महिनाअघिदेखि सुरु भएको आन्दोलनका कारण हालसम्म कम्तीमा तीन सयजनाको मृत्यु भएको छ। असहयोग आन्दोलन नाम दिएर सुरु भएको आन्दोलन चर्केपछि प्रधानमन्त्री शेख हसिनाले देश नै छाडेर भाग्नुपर्ने अवस्था आयो। विद्यार्थीहरुले सुरु गरेको आन्दोलन थेग्न नसक्ने भएपछि प्रधानमन्त्री हसिना देशबाटै भाग्नुपर्ने अवस्था आएको हो।

किन सुरु भयो आन्दोलन ?
१७ करोड जनसङ्ख्या भएको बंगलादेशमा सरकारी जागिरमा आरक्षण प्रणालीका कारण सुरु भएको विरोधले प्रधानमन्त्रीको बहिर्गमनसम्मको अवस्था आएको हो। सरकारी जागिरमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने संघर्षमा लडेका मानिसका सन्तानका लागि आरक्षण गरिएको थियो। उक्त प्रणाली भेदभावपूर्ण रहेको भन्दै विद्यार्थीहरूले क्षमताका आधारमा भर्ना गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।

सन् १९७१ डिसेम्बर १६ सम्म अहिलेको बंगलादेश पाकिस्तानकै भूमि थियो, जसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । पाकिस्तानी शासकले बंगाली भाषालाई कुल्चेर ऊर्दू लागू गराउन खोजेपछि सुरु भएको आन्दोलनले पछि स्वतन्त्र देशसम्म पुर्‍याएको थियो।

बंगलादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिएको पाइन्छ। सरकारी जागिरमा आकर्षक तलब हुन्छ। विभिन्न आकलनका अनुसार यतिखेर झण्डै १ करोड ८० लाख बंगलादेशीहरु जागिरको खोजीमा छन्। कम पढेका मानिसहरू भन्दा विश्वविद्यालयको पढाइ पूरा गरेकाहरूमा उच्च बेरोजगारी दर रहेको पाइन्छ। यसले पनि आन्दोलनमा थप बल मिल्यो ।

बंगलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षित भए पनि एकतिहाइ पदहरू स्वतन्त्रता सेनानीका लागि भनी छुट्याइएको थियो। विद्यार्थी आन्दोलन कोटा प्रणालीको विरोधमा नभई स्वतन्त्रता युद्धमा सामेल भएकाहरुको परिवारलाई दिँदै आएको कोटाको विरोधमा सुरु भएको हो।

हसिना सरकारले सन् २०१८ मा नै विभिन्न विरोधप्रदर्शनहरूका माझ यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो। तर, उच्च अदालतले गत महिना विवादास्पद कोटा प्रणालीलाई पुनर्स्थापित गरेपछि आन्दोलन सुरु भएको हो।  आन्दोलन चर्केपछि सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिसकेको छ। यद्यपि, आन्दोलनकारीमाथि सत्तामा रहेको दलका सदस्यहरूले आक्रमण गरेसँगै यसले हिंसात्मक रूप लिएको हो।

को हुन् शेख हसिना ? यस्तो छ विगत
शेख हसिना बंगलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। हसिना र उनकी बहिनी विदेश यात्रामा रहेकाले बच्न सफल भए पनि निर्वासनमा बस्न भारत जान बाध्य भए ।

पछि सन् १९८१ मा स्वदेश फर्किएर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बन्यो। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्।

सन् २००९ यता निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी हसिना बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट