काठमाडौं । एएफसी च्यालेन्ज लिगको छनोट खेलमा नेपालको चर्च ब्वाइज भुटानको पारो एफसीसँग पराजित भएको छ।
मंगलबार दशरथ रंगशालामा चर्च ब्वाइज २-१ गोलअन्तरले पराजित भएको हो।
खेलको ३८औँ मिनेटमा लाकेन लिम्बूले दिलाएको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज पराजित भएको हो। ३९औँ मिनेटमा किंग्मा वाङचुकले पारोका लागि बराबरी गोल गरेका थिए। ६७औं मिनेटमा विलियम वोपुकुको गोल पारोको लागि निर्णायक भयो।
आजको हारसँगै चर्च ब्वाइज लिगको समूह चरणमा पुग्न असफल भएको छ। एएफसीको तेस्रो श्रेणीको लिगको समूह चरणमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच समूहमा चार-चार टिम हुनेछन्। एक समूहको खेल एकै भेन्यूमा हुनेछ।