काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे । आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने उनको भनाइ थियो।
देशमा अहिले युवाहरुलाई रोजगारीको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने मन्त्री सिंशले बताए। अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै उनले युवाहरुले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको दाबी गरे।
अहिले केही भएन भन्ने भाष्य बनाएर दुस्प्रचार गरिएकोतर्फ युवाहरुलाई सचेत रहन आग्रह गर्दै उनले ०४६ र ०६२-६ ३ को परिवर्तनपछि आफ्नो गाउँको अवस्था, बाटोघाटो, स्वास्थ्य र शिक्षाको अवस्थाबारे आफ्नै अभिभावकहरुसँग बुझ्न आग्रह गरे।