काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र आफुलाई बद्नाम गर्न खोजेको गुनासो गरेका छन्।
शनिबार काठमाडौंमा खिमलाल देवकोटाद्वारा लिखित संक्रमणकालिन न्याय पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र विशेषगरि आफुलाई १७ हजारको हत्यारा भनेर नकारात्मक भाष्य बनाउने कोशीस भइरहेको बताएका हुन्। उनले युद्धको नेतृत्व आफुले गरेकाले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा आफुले लिन्छु भनेको जिकिर गरे।
‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने,’ उनले भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन।’
उनले जोखिम उठाएर हतियार व्यवस्थापन र सेना समायोजन माओवादीले टुङ्गाएको भन्न केहिलाई कठिन भइरहेको उल्लेख गरे। प्रचण्डले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिधेयकलाई बहुमतका आधारमा टुङ्ग्याउन अन्य दलले राखेको प्रस्तावलाई आफुले अस्वीकार गर्दै सहमतिका आधारमा अघि बढाउने अडान लिएको उल्लेख गरे। अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धी ऐन बनिसकेको अवस्थामा शान्तिप्रक्रिया सुरक्षित स्थानमा पुगेको भन्दै प्रचण्डले यसमा मुख्य भूमिका माओवादीको रहेको दावी गरे।
उनले संक्रमणकालिन न्यायसम्बन्धी आयोगका लागि सिफरिस समिति गठन भइसकेको अवस्थामा यसपटक हरहालतमा सफलतामा पुराउनुपर्ने बताए। उनले अरु कसैले चाहदैमा जनयुद्ध सम्भव नरहेको बताए। तीनकुनेमा आगलागी र हत्या गरेजस्तो सजिलो जनयुद्ध नरहेको उनको भनाइ छ।