२५ करोड बोकेर कहाँ जाँदै थिए कुसाङ ?

  • ई-सरोकार
  • २०८१ चैत्र ५, मंगलबार
  • २०१ पटक पढिएको

२५ करोड बोकेर कहाँ जाँदै थिए कुसाङ ?

काठमाडौँ । २५ करोड रुपैयाँ नगदसहित चीन लैजान लागेका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मङ्गलबार पत्रकार सम्मेलनमार्फत् अवैध विदेशी मुद्रा ओसारपसार तथा कारोबारमा सङ्लग्न सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको डीएसपी अनिल अधिकारीको टोलीले सोमबार राति ११ बजे काठमाडौँकै झोर क्षेत्रबाट उनलाई २५ करोड रुपैयाँ बराबरको मुद्रासहित पक्राउ गरेको थियो ।

काठमाडौंबाट चीनको केरुङतर्फ जाँदै गरेको ना७ख १६५२ नम्बरको मालवाहक ट्रकसहित उनलाई पक्राउ गरिएको हो । कुसाङले चालक बस्ने क्याबिनको माथिल्लो भागमा लुकाएर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विदेशी मुद्रा केरुङतर्फ लैजाँदै थिए ।

प्रहरीले दुई ओटा मोबाइल पनि बरामद गरेको छ । उक्त ट्रक आफूले सोही रुटमा चलाउँदै आएको कुसाङले बयान दिएका छन् । आफूलाई केरुङसम्म उक्त मुद्रा पुर्‍याउन भनिएको उनले बयानका क्रममा बताएका छन् ।

फुच्चे भनिने कुसाङ लामाले पाँच वर्षअघि काठमाडौँमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेकोसमेत खुलेको छ । उनी सुन तत्करी प्रकरणमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति भएकोसमेत प्रहरीले जनाएको छ ।

उनीमाथि भन्सार तथा राजस्व छली अवैध मुद्रा कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसूरमा अनुसन्धान जारी रहेको छ ।

 

futchee-arrest-illegal-currency (1).jpg
futchee-arrest-illegal-currency (2).jpg
futchee-arrest-illegal-currency (9).jpg
futchee-arrest-illegal-currency (10).jpg
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट