झापा । झापामा पछिल्लो समय रैथाने हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको पाइएको छ। पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
कार्यालयका अनुसार २०७५ सालमा १०–१२ सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ। भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ।
जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षतिसमेत बढ्दै गएको छ । यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ।
हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ। हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको जानकारहरु बताउँछन्।