काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने प्रस्ताव गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो प्रस्ताव गरेका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए। वामपन्थी एकता गरी स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रचण्डको प्रस्ताव छ।
देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, संघर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा बैठकमा छलफल भएको थियो।
बैठकमा पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि छलफल भएको बताइएको छ।