सिमलताल दुर्घटना : यी हुन् छानबिन समितिले औंल्याएका प्रमुख कारण

  • ई-सरोकार
  • २०८१ श्रावण २३, बुधबार
  • २८ पटक पढिएको

सिमलताल दुर्घटना : यी हुन् छानबिन समितिले औंल्याएका प्रमुख कारण

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनाको अध्ययन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

समितिले मंगलबार गृहमन्त्री रमेश लेखकसमक्ष बुझाएको प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गर्न सुझाव दिइएको छ।

दुर्घटनाका विविध कारणमध्ये राजमार्गमाथिको ग्रामीण सडक, इआइए र पर्खालविना उक्त ग्रामिण सडक निर्माण गर्नु, सिन्दुरे खोल्साको कल्भर्ट सफा नगर्नु र एकीकृत सूचना प्रणाली नहुनुलाई मुख्य कारणको रुपमा औंल्याइएको छ।

त्यस ठाउँमा भरतपुर महानगरपालिकाले ग्रामिण सडक निर्माण गरेको छ। उक्त सडक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) बिना खनिएकाले सडक छेउ‍मा रहेको ढुङ्गा माटो बग्न सहयोग पुगेको समितिको निष्कर्ष छ।

“दुर्घटनास्थलमाथिको भिरालो पहाडी क्षेत्रमा उचित इञ्जिनियरिङ तथा डिजाइनबिना हालसालै ग्रामीण सडक खनिएकाले सडक छेउ‍मा रहेको ढुङ्गा माटो बहावमा सहयोग पुगेको देखिन्छ” प्रतिवेदनमा भनिएको छ।

एकीकृत सूचना प्रणाली नहुँदा विभिन्न स्थानका सडकको अवस्था थाहा नहुनूलाई पनि दुर्घटनाको एक प्रमुख कारण मानिएको छ।

असार २८ गते बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस पहिरोले बगाउँदा त्रिशुली नदीमा खसेका थिए । बस र ४१ यात्रु अझैसम्म बेपत्ता छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित