सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिँदै कमलबहादुर शाह

  • ई-सरोकार
  • २०८१ श्रावण २०, आईतबार
  • २३० पटक पढिएको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिँदै कमलबहादुर शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह दोहोरिने भएका छन् । कांग्रेस–एमालेबीचको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउने भएपनि कांग्रेसबाट चार आकांक्षी देखिएका थिए ।

शाहसहित बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा मुख्यमन्त्रीको दौडमा भएपनि सभापति शेरबहादुर देउवाको निर्देशनपछि अन्य आकांक्षी पछि हटेका हुन् । योसँगै शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने भएका छन् ।

शाहलाई मुख्यमन्त्री बनाउने वा नबनाउनेबारे औपचारिक निर्णय भने आज बिहान ११ बजे बस्ने कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले गर्नेछ ।

गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेर राजीनामा दिएका शाह पुनः सत्तासमीकरण फेरबदलले मुख्यमन्त्री बन्न लागेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् । एमालको समर्थनमा शाहले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन चाहिन्छ । कांग्रेसका १८ र एमालेका ११ सदस्य छन् । सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान तयार रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट