काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादीको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलोपटक विश्वासको मत लिएका थिए ।
केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि माओवादीले कर्णाली सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको थियो। त्यसैले संवैधानिक व्यवस्थाअनुसार कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा कँडेलको दल नेकपा एमालेका १० तथा नेपाली कांग्रेसका १४ सांसद छन् । माओवादी केन्द्रका १३, राप्रपा र एकीकृत समाजवादीका १–१ तथा एक स्वतन्त्र सांसद छन् ।