काठमाडौं । आर्मी अफिसर्स क्लव सुन्धारामा छैटौं संस्करणको किताब जात्रा शुक्रबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग ‘सिर्जनामा सामाजिक चेतनाः हिजो र आज’ नामको छलफल हुँदैछ।
त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र ऋचा शर्मासँग ‘सिनेमा मन्थनः नेपाली सिनेमाको सपना’ शीर्षकमा छलफल हुने आयोजकको भनाई छ।
विप्लप प्रतिकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ। त्यस्तै ओपन माइक सेसनअन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन्।
महोत्सवको दोस्रो तथा अन्तिम दिन ‘स्टाटिङ अप विथ स्टार्टअप्स्’ शीर्षकको प्यानल डिस्कसन हुनेछ। त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिती, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधाः शक्ति र चुनौती, संञ्चारका सारथी लगायतका बिषयमा छलफल हुनेछ ।