काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।
प्राध्यापक विष्टको हत्या आरोपमा फरार रहेका काठमाडौं महानगरपालिका– ३२ बस्ने ३९ वर्षीय रञ्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
०६४ असार २६ गते ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने सविता थापा अधिकारीको योजनामा खड्कासहितको समूहले प्राध्यापक विष्टमाथि आक्रमण गरेको थियो ।
ललितपुरको इमाडोल घरका विष्टलाई रड र इँटा प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छाडेर उनीहरु फरार भएका थिए । आक्रमणबाट गम्भीर घाइते भएका विष्टको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
हत्यामा सविताका भाइ विनोद थापा, रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे समेत संलग्न थिए । १७ वर्षदेखि फरार रहेका खड्का मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट पक्राउ परेका हुन् ।