देश छाडेर बंगलादेशी प्रधानमन्त्री हसिना भारतमा

  • ई-सरोकार
  • २०८१ श्रावण २१, सोमबार
  • ५६ पटक पढिएको

देश छाडेर बंगलादेशी प्रधानमन्त्री हसिना भारतमा

एजेन्सी । सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भारत पुगेकी छिन् । १५ वर्ष बंगलादेशको शासन सत्ता सम्हालेकी हसिना अन्ततः देशबाट भागेर सैनिक हेलिकोप्टरमार्फत पश्चिम बंगाल पुगेकी हुन्।

गत जनावरी महिनामा भएको निर्वाचनबाट हसिना पाँचौँ कार्यकालका लागि प्रधानमन्त्री चुनिएकी थिइन्। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा अवामी लिग विजयी भए पनि हसिनाको सरकार एक वर्ष पनि टिकेन ।

हसिना बंगलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी सन् २००१ मा बेगम खालेदा जियासँग पराजित भएकी थिइन्। सन् २००९ यता भने उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्।

सरकारी सेवामा रहेको कोटा प्रणालीलाई लिएर सुरु भएको प्रदर्शनमा दमन बढ्दै गएपछि विद्यार्थीहरुले प्रधानमन्त्री हसिनाको राजीनामाको माग समेत अघि सारेका थिए।

हसिनाले देश छाडेपछि प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्। देशवासीका नाममा सन्देश जारी गर्दै उनले अन्तरिम सरकार नबनेसम्मका लागि शासन व्यवस्था लिएको घोषणा गरेका हुन्।

असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए। एक महिनाअघि आन्दोलन सुरु भएदेखि हालसम्म कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ। हालसम्म कम्तीमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित