२३ मंसिर, काठमाडौं । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गर्ने र कृषि उपकरण उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युकाताले स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालसँग अनुदान सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।
जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको यो परियोजनामा १ करोड नेपाली रुपैयाँ बराबरको वित्तीय अनुदान समावेश छ । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाको लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।
यो परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ ।
बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्ये आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विश्वास लिएको छ ।
करिब दुई दशकदेखि प्रिण्ट तथा इलेक्ट्रोनिक मिडियामा लेखन कार्यमा निरन्तर क्रियाशील लेखक/विश्लेषक/स्तम्भकार आचार्य लाल्टिन फाउण्डेशनद्वारा प्रवर्द्धित इ-सरोकार डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।
लेखकबाट थप