सिन्धुपाल्चोको इन्द्रावती गाउँपालिकाको नयाँपानीमा १२ बर्षपछी सुख्खा याममा पानी पलायो

  • ई-सरोकार
  • २०८१ माघ १६, बुधबार
  • १८२ पटक पढिएको

सिन्धुपाल्चोको इन्द्रावती गाउँपालिकाको नयाँपानीमा १२ बर्षपछी सुख्खा याममा पानी पलायो

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाकाे इन्द्रावती गाउँपालिका वडा नं ५ सिपा धुसिनी स्थित नयाँपानी धाममा आज माघ १६ गते पानी पलाएको छ ।

परापुर्व कालदेखिनै हरेक १२ वर्षको अन्तरालमा हिउँदकाे समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीकाे मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ ।

हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको नयाँपानी क्षेत्र संरक्षण समितिका अध्यक्ष माननाथ नेपालले जानकारी दिए ।

अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयाे कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिकाे पहलमा क्षमापुजा तथा विभिन्न धार्मिक अनुष्ठान कार्यक्रम गरिएको थियो । यस वर्ष माघ महिनामा पानी पलाएको र यो अनाैठाे दृष्टान्तले दैवी चामत्कारिक शक्तिको परिकल्पनामा बल मिलेको अध्यक्ष नेपालले जानकारी दिए ।

नेपालका अनुसार यसअघि २०६८ सालको कार्तिक अन्ततिर पलाएको पानी २०६९ साल असारमा सुकेको थियोे । त्योबेला स्थानियले उक्त क्षेत्रको सर्वाङ्गीण विकासकालागी नयाँपानी क्षेत्र संरक्षण समिति नामको एक सामाजिक संस्था गठन गरेका थिए ।

सोहि स्थानमा नयाँपानी धामको प्रचार प्रसार तथा यसको धार्मिक एवं साँस्कृतिक महत्वको व्यापकतालाइ सार्वजनिक गर्दै सो क्षेत्रको संरक्षणकालागि ‘नयाँपानी स्नान मकर महोत्सव – २०६८’ को  आयोजना गरिएको थियो । महोत्सवकै मेसोमा आयोजित सप्ताह ज्ञान महायज्ञमा गरिएको दान तथा महोत्सवमा उपस्थित श्रद्धालु भक्तजनले चढाएको भेटीसंकलनबाट नयाँपानी धाममा एक भवन समेत निर्माण गरिएको समितिका कोषाध्यक्ष बुद्धीप्रसाद आचार्यले बताए ।

आचार्य भन्छन् ‘प्रचलन अनुसार गत वर्षकाे हिउँदमा पानी पलाउनु पर्थ्याे तर पलाएन । गाउँका बासिन्दा चिन्तित बने । कसैले ७२ सालको महा भुकम्पलाई दाेष दिए । कसैले ७२ सालमा पञ्चकन्याबाट गराइएको वैदिक महायज्ञलाई दाेष लगाए । गत वर्ष भगवान रिसाएको हाे कि ? भन्ने बुढापाका र धार्मिक गुरुहरुकाे सल्लाह अनुसार गाउँले सबै मिलेर क्षमापुजा समेत गरियो तर पनि पानीको अत्तोपत्तो भएन । काेहि धार्मिक अनुयायी र सन्तकाे शरिरमा देवी आएर नाग देवता रिसाएको भन्ने पनि सुनियो र गत नागपञ्चमीमा नाग देवता स्थापना गरेर पुजाआजा समेत गरियो । त्यति गर्दागर्दै पनि पुस सम्म पनि पानीको मुल नपलाएपछि सबै बासिन्दाले आशा मारिसकेका थिए ।’

‘तर आज सबैलाई चकित पार्दै माघ १६ गते औशीका दिन नयाँपानी धाममा नयाँपानीको मुल पलाएको छ । संयाेग नै मान्नुपर्छ यसअघि पनि साे स्थानमा औशीकै दिन पानीको मुल फुटेको थियोे । आज स्थानीय बासिन्दा असाध्यै हर्षित भएका छन । काेहि भगवानकाे शक्ति भनेर पुलकित छन भने काेहि प्रकृतिको अद्भुत नजारालाई सलाम गरिरहेका छन ।’ उनको भनाइ थियो ।

काठमाडौंबाट करिब ५० किमीको दुरिमा रहेको नयाँपानी धाममा एकपटक पुगेर त्यहाँको ऐतिहासिक धार्मिक पुरातत्विक तथा पर्यटकिय महत्वको बारेमा अवलोकनका साथै खोज अनुसन्धान समेत गरिदिन सोहि वडाका वडाध्यक्ष शशिनाथ आचार्यले सबैमा आव्हान गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

खोजी गर्नुहोस

ताजा अपडेट