काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संगठनको नेतृत्व लिने आकांक्षीहरुले मंगलबार मनोनयन दर्ता गरेका छन् ।
माओवादी केन्द्रकाे पदाधिकारी बैठकले विद्यार्थी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरे पनि प्रतिस्पर्धी नेताकाे संख्या धेरै भएकाले टुंगोमा पुगेन । अध्यक्ष पुष्पकमल दाहालले ‘सकेसम्म’ सहमति गर्नु राम्रो हुने बताए पनि अन्य नेताहरुले प्रतिस्पर्धाका लागि खुला राख्नुपर्ने बताएका थिए । सर्वसम्मत गर्ने र नगर्नेबारे पार्टी पदाधिकारीबीच मत बाझिएपछि प्रत्यक्ष निर्वाचनको तयारी छ ।
अनलाइनमाध्यामबाट उम्मेदवारी मनोनयनको व्यवस्था गरिएकाे छ । नेताहरुले मनोनयन गर्ने समय मंगलबार राति नौबजेसम्म तोकिएको इञ्चार्ज हिमाल शर्माले बताए ।
‘नेतृत्व लिन प्रतिस्पर्धाका लागि मनोनयन भएको छ,’ उनले भने, ‘मनोनयन दर्ता भइसकेपछि सकेसम्म सहमति खोज्ने प्रयास हुन सक्छ ।’
अखिल क्रान्तिकारीका एक नेताका अनुसार संस्थापन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा पक्षका विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
अध्यक्षका लागि हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव र विजय सापकोटाले उम्मेदवारी दिएका छन् । महासचिवमा रोशन थापा मगर, गोविन्द बानियाँ र पदम काफ्लेले मनोनयतपत्र दर्ता गराएका छन् । नेतृत्वका लागि माघ १२ मा निर्वाचत हुँदैछ । सातै प्रदेशमा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।
पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।