काठमाडौं । एक अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित सबैले सफाइ पाएका छन्। विशेष अदालतले बुधबार फैसला सुनाउँदै प्रतिवादी सबै १४ जनालाई सफाइ दिएको हो।
नगरपालिका क्षेत्रमा खानी तथा नदीजन्य ढुंगा, गिटी, बालुवालगायतको ठेक्का लगाउँदा मिलेमतोमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा पाँचवटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू प्रवीण कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासेनीलाई प्रतिवादी बनाइएको मुद्दामा सबैले सफाइ पाएका हुन्। सो मुद्दामा यमलाल बेल्बासे, मदन केसी, सप्तम् निर्माण कम्पनी, मधुसुदन डोटेल, निराकर ढुंगा उद्योग प्रालि, केदारनाथ तिमल्सिना, मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालि, शशीराज शाही, सजिलो ढुंगा उद्योग प्रालि, वीरेन्द्र महर्जन र उनको ढुंगा उद्योगसमेतलाई प्रतिवादी बनाइएको थियो।
प्रदेश सरकारको आर्थिक ऐनभन्दा नगरपालिकाले घटी दररेट राखेर आर्थिक ऐन बनाई कार्यान्वयन गर्नु भ्रष्टाचार नभई अधिकार क्षेत्रको विवाद भएको विशेष अदालतले भनेको छ। साथै, यससम्बन्धी विषय विशेष अदालतबाट नभई सर्वोच्चको संवैधानिक इजलासको क्षेत्राधिकार हुने विशेषको ठहर छ।